Thursday, October 28, 2021
Home समाचार काङ्ग्रेस नेता पौडेलको उम्मेद्बारी घोषणा

काङ्ग्रेस नेता पौडेलको उम्मेद्बारी घोषणा

अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख माधवप्रसाद पौडेलले कांग्रेसी मनहरूलाई जोड्न आफूले जिल्ला सचिव पद त्यागेर महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने बताएका छन् ।

बौद्धिक नेताको छवि बनाएका कुशल संगठनकर्ता पौडेललाई सभापतिका उम्मेदवार एवं वर्तमान सभापति विष्णुप्रसाद खनाल (मुस्कान) र अर्का उम्मेदवार यावदप्रसाद घिमिरेले सचिव पदमा बस्न सुझाव दिएका थिए ।

‘आउँदो समयमा कांग्रेस सुदृढीकरणका लागि जिल्लामा सर्वसम्मतिमा नेतृत्व चयन गर्न सभापति पदका दुवै जना उम्मेदवारसँग बारम्बार गरिएको छलफलमा सहमति जुट्न सकेन,’ पौडेलले भने, ‘जिल्ला सचिवमा बस्न खनाल र घिमिरे दुवैले प्रस्ताव गर्नुभएको थियो तापनि गुट विशेषको हुन मन नलागेर महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनाएँ ।’

कांग्रेसी मनहरू जोड्न आफूले सचिव पद त्यागेको उनले बताए । कुनै समूह भएर होइन, सभापतिसहित सबै पद सर्वसम्मत चयन भएमा जिल्ला सचिव हुन तयार रहेको पनि उनले सुनाए ।

‘पदाधिकारीका आकांक्षी नेता उम्मेदवारहरू योग्य, कर्मठ र व्यक्तिविशेष वा गुटको वकालत गर्ने नभई सक्षम होउन् भन्ने मेरो चाहना छ,’ पौडेलले भने, ‘म अझै पनि सर्वसम्मतिमा नेतृत्व चयन गर्ने अन्तिम प्रयासमा लागेको छु । मतदान भएपनि म खनाल र घिमिरे दुवै समूहबाट कांग्रेसलाई चाहिने मान्छे ल्याउने पहल गर्नेछु, गुट विशेषबाट होइन, जिल्लाका लागि आवश्यक उम्मेदवारलाई नेतृत्वमा ल्याउने प्रयास गर्नेछु ।’

कांग्रेसमा लोकतान्त्रिक संस्कार विकास गर्न आन्तरिक चुनाव सहजै पचाउन सक्ने क्षमता हुनुपर्ने उनको तर्क छ । उनले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका खनाल, घिमिरे, केशव श्रेष्ठ र इन्द्रमणि पौडेललाई एउटै गाडीमा सँगसँगै बसेर कार्यकर्ताकहाँ जान र स्वच्छ तरिकाले आफ्ना विचार र एजेन्डा राखी उनीहरूको मन जितेर जिल्लाको नेतृत्वमा पुग्न चुनौती दिएका छन् ।

उनले पार्टी सभापतिका आकांक्षीहरूलाई कुनै केन्द्रीय नेता विशेष फेरो नसमाई मतदाताको मन जित्न सुझाव दिएका छन् । अधिवेशन अवधिभर तटस्थ बसेर अधिवेशनपछि फाटेका मन टाल्न पुलको काम गर्ने पौडेलको भनाइ छ ।

‘अर्घाखाँची कांग्रेसमा सक्षम नेतृत्व नआओस् भन्नेहरूको इच्छा पूरा हुने छैन,’ पौडेलले थपे, ‘अर्घाखाँचीमा कांग्रेसलाई कमजोर बनाउन भूमिगत रूपमा लागेकाहरूलाई जिल्लाउन कांग्रेस एकढिक्का भई लाग्नुपर्छ ।’    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments